काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दवाव दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको भन्दै संसद्मा रहेका सबै दलसँग छलफल गरेर दवाव सिर्जना गर्ने बताएका हुन् । ‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौँ । प्रभावकारी दबाब सिर्जना गर्छौँ,’ सापकोटाले भने, ‘समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ ।’
उनले संसद् छलेर सरकारले दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । सापकोटाले चाँडो भन्दा चाँडो संसद्को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदै छ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदै छ । कमसेकम बैठक त समयमा बोलाउनुपर्यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरू हुन सक्दैन ।’
बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए । उनीहरुले समसामायीक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राखेका छन् । समाजवादी विचारधाराको विकासका लागि, सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरि तयारी गर्नुपर्नेमा नेताहरूको जोड गरेको सापकोटाले जानकारी दिए ।