जनक श्रेष्ठ
लमजुङ । लमजुङ मर्स्याङ्दी गाउँपालिकामा वडा नंं ७ ङादीस्थित भुलभुले स्वास्थ्य चौकीमा आयोजित शिविरमा १०३ जनाको सफल शल्यक्रिया गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा आयोजित तीन दिने निःशुल्क आँखा परीक्षण तथा शुल्यक्रिया शिविरमा मंगलबारदेखि बिहिबारसम्म गरी तीन दिनमा यतिका जनाको संख्यामा शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
उनका अनुसार मनोज एसोसिएसन फ्रान्स र मुटु फाउण्डेसन काठमाडौंको आर्थिक तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा यस शिविर सञ्चालन गरिएको हो । यस शिविरमा ९०५ जनालाई परामर्श सेवा तथा २३७ जनालाई नजिकको चश्मा वितरण गरिएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।
केहीलाई औषधी समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस शिविरमा नेपाल आँखा अस्पतालका डा. प्रणव श्रेष्ठको नेतृत्वमा ८ जना खटिएका थिए । पालिकाभित्रको नागरिकलाई मध्यनजर गरेर आयोजना गरेको र यस शिविरबाट आँखाका विरामी लाभान्वित भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।
विविध कारणले अस्पतालसम्म पुग्न नसकेका नागरिकलाई लक्षित गरेर उनीहरुको सहजताका लागि घरदैलोमा नै यस शिविर आयोजना हुँदा स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अघि बढिरहेकाले आगामी दिनमा अन्य शिविरको पनि आयोजना गर्ने बताइएको छ ।