काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वेदनामय खबरहरूबाट पार पाउन काम अघि बढिरहेका बताएका छन् । सडक पूर्वाधार असुरक्षित हुँदा दु:खद खबरहरू दिनदिनै सुन्न परिरहेको भन्दै अब यसलाई पार लाउने केही काम अघि बढेका बताएका छन्।
सम्बोधनका क्रममा आफू नेतृत्वको सरकार बनेपछि भएका अरु विकास निर्माणका प्रगतिहरू सुनाए । एकसाता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु भएकादेखि ठेकेदार कम्पनीले काम छोडेपछि अलपत्र परेका बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम सरकारले द्रुत गतिमा अघि बढेको बताए।
सम्बाेधनकाे अंश:–
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम यस गरिमामय सदनको पाचौं अधिवेशनमा म सबै माननीयज्यूहरुलाई हार्दिक स्वागत गर्दछु ।
म यस गरिमामय सदनमार्फत् देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात÷अज्ञात शहीदहरूको विशेष स्मरण गर्दै ती सम्पूर्ण वीर÷वीराङगनाहरूप्रति हार्दिक नमन एवं श्रद्धाञ्जलि अर्पण गर्दछु । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने शहीदहरूका महान् सपनालाई साकार पार्ने दृढ संकल्प पनि गर्दछु । साथै यस राष्ट्र«को जीवनमा अमूल्य योगदान दिने पुष्पलाल, विपी कोइराला, गणेशमान सिंह र मदन भण्डारी लगायत सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
‘पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो, धेरैको ज्यान गयो ।’ सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो ।
त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयो । सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका बृद्ध बाबू–आमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनें । सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिसप्त छौं ।
मैले संकल्प गरें– अब हामीले यस स्थितिलाई बदल्नु पर्ने छ र त्यसका लागि काम गर्नु पर्ने छ। यस्ता वेदनामय खबरहरुबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।
यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको छ । अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौं । यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ । यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिंदै छ र त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउने छ ।
सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दीगो बनाउन हामीले सुरुङ मार्गको योजना अघि सारेका थियौं ।
सम्माननीय सभामुख महोदय,
प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता— थालेको काम सक्ने हो ।
थालेका कामहरुलाई हामीले कहाँ पु¥याउँदै छौं ! यस विषयमा मैले आज यस सम्मानित सदनलाई जानकारी गराउनु पर्दछ–
काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ ।
चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको छ ।
ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ ।
यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ ।
खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेण्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ ।
रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो ।
विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।