काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको टिप्पणी गरेका छन्। उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए।
सन्देशमा शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग, समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने बताए।
‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन,’ उनले भने, ‘पक्ष-विपक्षको अहंकार, व्यक्तिगत स्वार्थ र हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन।’
पूर्वराजाले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आर्थिक संकट, जनशक्ति पलायन र राष्ट्रिय पहिचान कमजोर भइरहेको उल्लेख गरे।
‘नेपालीको पसिना आफ्नै भूमिमा होइन, विदेशमा बगिरहेको छ,’ उनले भने, ‘जन्मदै नेपाली नागरिक ऋणभारको बोझ बोकेर अघि बढ्न बाध्य छन्, शिक्षालयहरू र व्यापार-व्यवसाय कमजोर बन्दै गएका छन्।’
शाहले राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय एकता र पहिचान जोगाउनुपर्ने आवश्यकता औंल्याए। उनले विगतका कमजोरी सच्याउँदै नेपाललाई स्थिरता, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे।
‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं।’
उनले सबैलाई राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गर्दै सन्देशको अन्त्यमा नेपालका लागि शुभकामना व्यक्त गरे।
यस्तो छ पूर्व राजाको शुभकामना सन्देश
नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबैपात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।
“प्रजातन्त्र” आजको युगको उत्तम शासन पद्धति हुनु पर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधी व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने – सर्वमान्य आर्दश पनि हुन पर्थ्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्र भित्रका हरेकवर्ग, समूह वा व्यक्तिको हक अधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र – सबैको प्रिय व्यवस्था हुनु पर्दथ्यो । यसमा कहिं कसैको शंका हुन सक्दैन ।
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई बाद विवाद, द्वन्द विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषिको रुपमा पनि हेर्नु पर्दछ । सुन्दर शब्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होइन। कर्म र व्यवहारमा प्रजातन्त्रलाई उर्ताने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनु पर्दछ । सबैको पहिचान हुनु पर्दछ, सबैको अस्तित्व सुरक्षित हुनु पर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ-आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनु पर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनु पर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रत गराउने हुनु पर्दछ, तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो ।
हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैब हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल
२०८१ साल फागुन ७ गते