काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि बैठकमा पेस गरिनेछ ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ।
भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नेछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।
यस्तै, सांसद डा. स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नेछन्, भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव राख्नेछन्, तर नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उक्त अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, सांसद रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नेछन्, भने अर्थमन्त्री पौडेलले सोही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद डा. चन्दा कार्कीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् । सोही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नेछन् ।