काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभा सुरू हुँदैछ। राजसंस्था र हिन्दुराष्ट्रको मागसहित राप्रपाले आज आमसभा गर्न लागेको हो।त्यसका लागि राप्रपाले बिहान साढे ११ बजे बल्खुमा आमसभाको तयारी गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत दलहरूले सभालाई सम्बोधन गर्ने जनाइएको छ।राप्रपाको प्रदर्शनमा राजसंस्था पुनरस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ। उसले राष्ट्रिय झण्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने जनाएको छ।
अहिले विभिन्न स्थानबाट सुरू भएर र्याली तथा जुलुश तोकिएको स्थानमा जम्मा हुने क्रम जारी छ। विरोध कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुनसक्ने भएकाले प्रहरीले सवारी डाइभर्सनको प्रबन्ध मिलाएको छ।
प्रहरी अनुसार कलंकीको खसिबजार-मकालु चोक हुँदै बाफलतर्फ सवारी डाइभर्सन गरिएको छ। यस्तै बल्खु चोक-कुलेश्वर-कालीमाटी चोक-टेकुमा पनि सवारी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ।
कीर्तिपुर-सुन्दरीघाट-सानेपा-एकान्तकुना पुग्नेगरी सवारी डाइभर्सन गरिएका छन्। सवारी चाप बढेमा त्रिपुरेश्वर,बालालु,हलचोक,नैकाप,सितापाइला,चोभरा,फर्पिङ,नख्खु दोबाटो र कोटेश्वर चोकमा पनि सवारी डार्भसन गर्न सकिने प्रहरले जनाएको छ।