काठमाडौं । रुपन्देही ३ र मनाङ प्रदेशसभा (ख) को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी कात्तिक १७ गते रुपन्देही ३ र मनाङ प्रदेश सभामा उपनिर्वाचन गर्ने निर्णय लिएको हो । आयोगले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतिनिधिसभा रुपन्देही ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने जानकारी दिएको हो ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका थिए । उनको गत चैत १९ गते निधन भएपछि क्षेत्र रिक्त छ । घाँटीमा क्यान्सरका कारण बोहोराको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । रुपन्देहीमा हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले तयारी थालिसकेका छन् ।
एमालेले खिमलाल भट्टराईलाई उम्मेृदवार बनाउने भएको छ । राप्रपाले स्व.बोहोराकै छोरालाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसले बालकृष्ण खाँण वा कसलाई उठाउने भन्ने निर्णय गरिसकेको छैन । माओवादी, रास्वपालगायतका दल अझै अनिर्णीत छन् ।