काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता वर्तमान सत्ताको कार्यशैलीले अपमानित बनाएको टिप्पणी गरे।
“के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं?” भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको र पछाडि पारिएका वर्गलाई राज्यले संरक्षण दिन नसकेको आरोप लगाए।
उनले शासकीय संरचना र राजनीतिक नेतृत्व जनतासँगको दूरीमा फसेको भन्दै गम्भीर आत्मसमीक्षाको खाँचो औंल्याए।
प्रचण्डले संसद र संसदीय समितिमा भइरहेका प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै, विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुगेपछि चलखेल र हस्तक्षेपका कारण अघि नबढेको बताए।
“दुई ठूला दलहरूको मिलोमतोले संसदलाई विचौलियाको खेलमैदान बनाएको छ,” उनले भने, “यस्तो प्रवृत्ति जनताका लागि लज्जास्पद र खेदजनक छ।”
अध्यक्ष प्रचण्डले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर भएर नलागे परिस्थिति विस्फोटक बन्ने चेतावनी दिए। उनले पछिल्ला समय देखिएका उच्चस्तरीय अनियमितता र घोटालामाथि तीव्र असन्तुष्टि जनाउँदै अनेकौं उदाहरण प्रस्तुत गरे।
धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण र सरुवा–नियुक्तिमा हुने करोडौंको लेनदेनलाई उदाहरण दिँदै उनले सरकार नियामक निकायलाई पनि बिचौलियाको इशारामा चलाएको गम्भीर आरोप लगाए।