काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी गडबडीमा जिम्मेवार ठहरिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयकको प्रतिवेदनमा हस्ताक्षर त गरे पनि त्यसमा लेखिएका विषय आफूले नलेखेको स्पष्ट पारेका छन्।
‘कुलिङ अफ पिरियड’सम्बन्धी विवादित व्यवस्था समेटिएको विधेयक प्रतिनिधिसभामा पेस गर्दा समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर रहेको प्रतिवेदनमा ‘बाहेक’ शब्द थपिई विधेयकको मर्म नै निष्क्रिय हुने गरी परिवर्तन गरिएको पाइएको थियो।
यो विषय सार्वजनिक भएपछि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। समितिले दुई दिन, दुई रातको लगातार छलफलपछि मंगलबार बिहान प्रतिवेदन सार्वजनिक गर्दै सभापति खतिवडा र सचिव दुरा नै जिम्मेवार रहेको ठहर गरेको थियो।
यस विषयमा नेपालखबरसँग कुरा गर्दै सभापति खतिवडाले भने,“मैले प्रतिवेदन हेरेको छैन, तर सही गरेकै हो, त्यसमा विवाद छैन। तर ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भन्ने मेरो स्ट्यान्ड हो। लेख्ने काम मेरो होइन।”
उनले प्रतिवेदनमा भएका संशोधनहरू आफ्नो जानकारीबिना भएका संकेत गर्दै प्रतिनिधिसभा पनि जिम्मेवार रहेको बताए। “संसदले पनि पास गरेको हो, त्यसैले जिम्मेवारी संसदको पनि हो,” खतिवडाले भने, “अब के गरी लेखिरछन्, मलाई थाहा छैन।”