काठमाडौं । हरेक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्री र सांसदबीच हुने प्रश्नोत्तर कार्यक्रम यसपटक स्थगित भएको छ। बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने कार्यसूची तय गरिएको थियो। तर स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसक्ने भएका छन्।
कार्यव्यवस्थामा जानकारी आउनुअघि नै सभामुख देवराज घिमिरेले सांसदहरूबाट प्रश्न संकलन गरिसकेका थिए। तर बुधबार मध्याह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री अस्वस्थ भएकाले संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बर्तौलाले बैठकमा, “स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री आजको संसद बैठकमा प्रश्नोत्तरका लागि आउन सक्नुहुन्न,” भनेर जानकारी गराएका थिए। यससँगै यसपटकको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।