काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनभित्र महिला प्रहरीको संख्या २० प्रतिशत पुर्याउनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आजदेखि सुरु भएको प्रथम महिला प्रहरी सम्मेलनको उद्घाटन गर्दै उनले संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था गरेको भए पनि त्यो लक्ष्य तत्कालै पूरा गर्न समय लाग्ने बताए।
‘हामीले आरक्षणको प्रबन्ध गरेका छौँ। तर त्यो अहिले नै पूरा हुने स्थिति छैन,’ मन्त्री लेखकले भने, ‘सरकारले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ। यो दीर्घकालीन कार्यक्रम हो, विस्तारै पूरा हुन्छ।’
हाल प्रहरीमा करिब २० प्रतिशत महिला प्रहरी रहेको उल्लेख गर्दै उनले आवश्यक नीति र कार्यक्रममार्फत् महिला सहभागिता बढाउने सरकारको तयारी रहेको स्पष्ट पारे। ‘प्रहरीमा महिलाको उल्लेखनीय उपस्थिति बनाउनका लागि सरकार तत्पर छ,’ उनले जोड दिए।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनको अन्त्यमा घोषणा पत्र जारी गरिने छ। उद्घाटन सत्रमा पहिलो महिला प्रहरीसहित पाँच जनालाई सम्मान गरिएको छ।