काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध उठिरहेका आलोचनात्मक आवाजप्रति आपत्ति जनाएका छन्।
काठमाडौंमा आयोजित मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा पोखरेलले जबज विचारलाई प्रतिकूलतासँग लड्दै स्थापित भएको बताए। उनले भने, “यो विचार आँधी–तुफानसँग जुध्दै अघि आएको हो, यसको जग र पृष्ठभूमि बुझ्नुपर्छ।”
हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशनलाई ‘ठगीखाने भाँडो’ भन्दै आलोचना गरेपछि पोखरेलको भनाइ ओलीलाई लक्षित प्रतिक्रिया भएको विश्लेषण गरिएको छ। उनले थपे, “चुनौती त आउँछन्, अपजस पनि आउँछन्, तर चुनौती सामना गरेर अघि बढ्नुको विकल्प छैन। मनोबल कमजोर हुन दिनु हुँदैन।”
पोखरेलले फाउन्डेशनले भण्डारीको विचारलाई विश्वमञ्चमा पुर्याउने जिम्मा लिनुपर्ने उल्लेख गर्दै जन्मजयन्ती कार्यक्रम व्यवस्थित गर्न सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले जबजलाई एमाले मात्र नभई समग्र देश निर्माणको आधारभूत विचारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।