काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति ‘विद्या भण्डारीले पार्टीभित्र समस्या ल्याउने’ कल्पना पनि नगरिएको बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा ओलीले दुई पटक राष्ट्रपति बनाएको व्यक्तिबाट यस्तो गतिविधि होला भनेर नसोचिएको बताएका हुन् ।
‘राष्ट्रपति भइसकेको व्यक्ति फेरि कार्यकर्ता हुनुहोला भन्ने लागेको थिएन’, ओलीले भने, ‘फेरि नेता हुने मन सुरुमै भन्नुपर्थ्यो । किन राष्ट्रपति हुन गएको होला ?’
उनले मदन भण्डारीको एक वर्षपछिको जन्म जयन्ती गर्न भन्दै एक वर्षअगाडि नै कार्यालय खोजेर भित्रभित्र पार्टीविरुद्धका गतिविधि गरिएकोसमेत आरोप लगाए । भण्डारीले पार्टी सदस्यताका लागि आवेदन नै नदिएको दाबी पनि ओलीले गरेका छन् । ‘उहाँले कसैलाई भन्नुभएको छैन । टेलिभिजनमा अन्तर्वार्ता भन्नुभएछ’, ओलीले भने ।