काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको सचिवालयले आइतबार सूचना जारी गर्दै रिक्त रहेका चार एआईजी पदमा बढुवाका लागि चार डीआईजीको नाम सिफारिस गरिएको जानकारी दिएको हो।
प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका सुशिलसिंह राठौरको बढुवा सिफारिस भएको छ। मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका उमा प्रसाद चतुर्वेदी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका हिमालय कुमार श्रेष्ठको बढुवा सिफारिस भएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डम्बर बहादुर विकको पनि बढुवा सिफारिस भएको छ। बढुवा समितिको सिफारिस मन्त्रालयमा पेश भइसकेको छ भने अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकबाट हुनेछ।