काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, पूजा–आराधना तथा परम्परागत संस्कारका साथ मनाइँदैछ।
आज सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई साउने सङ्क्रान्तिका रूपमा मनाइन्छ। आजैदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। वैदिक सनातन परम्पराअनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दुवैलाई विशेष महत्वका साथ मनाइन्छ।
नेपाल कृषि प्रधान देश भएकाले असारभरि खेतबारीमा व्यस्त रहने किसानहरू साउने सङ्क्रान्तिका दिन शरीरमा लाग्ने छालासम्बन्धी रोगबाट बच्न ‘लुतो फाल्ने’ परम्परा निभाउने चलन छ। संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो परम्परा स्वास्थ्य र सरसफाइसँग पनि जोडिएको मानिन्छ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो फाल्ने, नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने तथा ढोका बन्द गर्ने चलन विभिन्न समुदायमा प्रचलित छ।
साउन महिना भगवान् शिवको विशेष पूजा–आराधनाको महिना मानिन्छ। यस अवधिमा महिलाले हरियो चुरा, हरियो पोते र हरियो वस्त्र धारण गरी प्रकृतिप्रतिको सम्मान र शुभताको प्रतीकका रूपमा मनाउने परम्परा रहेको छ।
साउने सङ्क्रान्तिको अवसरमा आज पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुहरूले स्नान, पूजा, जलाभिषेक र दान–पुण्य गरी पर्व मनाइरहेका छन्।

