राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ (आरडीएनए) मा बाढीपछिको क्षति तथा पुनःस्थापना र पुनर्निर्माणको आवश्यकता मूल्यांकन गरिएको हो।
प्रतिवेदनअनुसार रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ भोटेकोसी नदीमा मिसिएपछि आएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो। बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ मानिस विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा बढी क्षति नुवाकोटमा भएको छ। नुवाकोटमा मात्रै ३ हजार ९७७ निजी भवनमा क्षति पुगेको छ।
त्यस्तै रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवनमा क्षति भएको छ।
स्थानीय तहका आधारमा विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा मात्रै ३ हजार २६ निजी भवनमा क्षति पुगेको छ। त्यसपछि रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा १ हजार ४३ र धादिङको बेनिघाट रोराङ गाउँपालिकामा १ हजार ३७ भवन क्षतिग्रस्त भएका छन्।
वडागत रूपमा नुवाकोटको किस्पाङ गाउँपालिकाका पाँच वटा वडा सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ ६९६ भवनमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि गोसाईंकुण्ड गाउँपालिका–२ मा ५७१ र बेनिघाट रोराङ गाउँपालिका–३ मा ५५३ भवनमा क्षति पुगेको छ।
प्रतिवेदनअनुसार कुन भवन मर्मत गर्न मिल्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने भन्ने विषय थप निरीक्षण तथा घरधुरी प्रमाणीकरणपछि मात्रै यकिन हुनेछ।
निजी भवन तथा घरायसी सम्पत्तिमा भएको कुल क्षति ६३ अर्ब ८ करोड ४ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। यसमध्ये भवन संरचनातर्फ ३८ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ र घरायसी सम्पत्तितर्फ २४ अर्ब ९५ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको मूल्यांकन गरिएको छ।
क्षतिग्रस्त निजी भवनको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रारम्भिक र दीर्घकालीन दुवै चरणको काम समेटेर ठूलो रकम आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ। भग्नावशेष हटाउने, अस्थायी आवास तथा खानेपानी र सरसफाइको व्यवस्था गर्ने, भवनको विस्तृत मूल्यांकन गर्ने, घर मर्मत तथा पुनर्निर्माण गर्ने र आवश्यक घरायसी सम्पत्ति पुनःस्थापना गर्ने काममा खर्च हुने उल्लेख छ।
यद्यपि भवनको वास्तविक क्षेत्रफल, संरचनाको अवस्था तथा घरायसी सम्पत्तिमा भएको वास्तविक क्षति थप विस्तृत अध्ययनपछि फरक पर्न सक्ने भएकाले पुनर्निर्माण लागत संशोधन हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
समग्रमा भोटेकोसी–त्रिशूली–नारायणी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक क्षति तथा आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि भने ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

