आँबुखैरेनी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आँबुखैरेनी गाउँपालिकाले हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धता कार्यक्रम सम्पन्न गरेको छ ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको अभियानअन्तर्गत गाउँपालिका परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ, म हिंसाको प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्मा, रामशाह माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछाने, मित्रता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटी, विद्यार्थी तथा गाउँपालिकाअन्तर्गतका कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चुमानले लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्ने बताए । हिंसालाई सामान्य रूपमा लिने प्रवृत्तिको अन्त्य गर्दै पीडितको संरक्षण, न्यायमा सहज पहुँच र दोषीलाई कानुनी कारबाहीको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।
हिंसामुक्त समाज निर्माणका लागि घरपरिवार, विद्यालय र समुदायस्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय रूपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा यस वर्ष मंसिर ९ देखि २४ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

