काठमाडौं । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ ।
चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताउनुभयो ।
भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउँछन् । नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उनको भनाइ छ ।