काठमाडौं । मधेश प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ राहतस्वरुप दिने भएको छ।
मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साहको परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए।
मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ। त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ। असमयमा अनाहक ज्यान गुमाउने युवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।’