काठमाडौं । शे–फोक्सुण्डो गाउँपालिकाका कार्यकारी अधिकृत सुमन ढकालले सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वान गरेका छन् । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले गाउँपालिकाका विभिन्न स्थान तथा समुदायहरू भ्रमण गर्ने क्रममा सबै नेपालीलाई आफ्नो पालिका भ्रमण गर्न आह्वान गरेका हुन् ।
करिब ५३०० मिटरको उचाईमा रहेको ’शे’ पास हिमाल पुगेर आफैले खिचेको तस्बिर सार्वजनिक गर्दै शे–फोक्सुण्डोको प्राकृतिक स्थानको भ्रमण र अवलोकन गर्न सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाल सुन्दर देश हो भनेर लेखिन्छ, पढिन्छ। वास्तवमा नेपाल कति सुन्दर छ भन्ने कुरा आफूले अनुभूत गरेपछी मात्रै थाहा हुँदो रहेछ । माथिल्लो डोल्पाका बाटो गौँडाहरूमा, तालहरूमा, हिमालहरूमा, पाटनहरूमा, गाउँगाउँमा प्रशस्तै विदेशी पर्यटकहरू भेटिन्छन् ।’
त्यसमा पनि प्रायः ६०÷६५ वर्ष उमेर पार गरिसकेका मानिसहरू हुन्छन्। उनीहरू लाखौं, करोडौँ रकम खर्चेर नेपालको सौन्दर्यताको अनुभूत गर्न आएका हुन्छन्। तर हामी आफ्नै देश घुमेका छैनौँ, घुम्ने इच्छा गर्दैनौँ । एकपटक सबैले आफ्नो देश घुमेर हेरौँ, हाम्रो देश साँच्चै नै गर्व गर्न लायक छ। सबै नेपालीहरूलाई शे–फोक्सुण्डो गाउँपालिका भ्रमण गर्न आह्वान गर्दछु ।’
शे–फोक्सुण्डो गाउँपालिका ज्यादै नै भौगोलिक विकटता भएको स्थानीय तह भए पनि यहाँको भौगोलिक, साँस्कृतिक सौन्दर्यताले यहाँ आईपुग्ने पर्यटकहरू सबै दुःख बिर्सेर साँच्चै नै मन्त्रमुग्ध हुने उनी बताउँछन्।
ढकालले आफूले खिचेर सामाजिक संजालमा राखेका विभिन्न तस्वीरहरूले शे–फोक्सुण्डो गाउँपालिकाको भ्रमण गराईरहेका छन्। साक्षात्कार गर्न भने शे–फोक्सुण्डो गाउँपालिकामा स्वागत गर्न उनी आतुर रहेको बताए ।