काठमाडौं । आज बडादसैंको आठौं दिन महाअष्टमी हो। यो नवरथामध्येमा पर्ने एक विशेष तिथि हो। नवरथामा विशेष गरी देवीको पूजाआराधना हुने गर्छ। महाअष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ।
अन्य दिनमा झैं महाअष्टमीका दिन भक्तजन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरमा जान्छन्। महाअष्टमीमा काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, इन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठमा बलि चढाउने र पूजाआराधना गर्ने प्रचलन छ।
भागवत, मार्कण्डेय पुराणलगायतमा देवीको सृष्टिबारे धेरै निरूपण गरिएको छ। वर्षमा विशेषगरी चारवटा नवरात्र हुन्छन्– चैत्र शुक्लपक्ष, असार शुक्लपक्ष, आश्विन शुक्लपक्ष र माघ शुक्लपक्ष। त्यसमा पनि नेपालीहरूको परम्परा, संस्कृतिका साथै विविध कारणले शरदकालको पूजाको विशेष महत्व भएकाले पनि यो समयको अष्टमी वा महाअष्टमीको धेरै महत्त्व रहेको उपप्राध्यापक डा. पुरुषोत्तम भट्टराई बताउँछन्।