काठमाडौं । लमजुङको कालिका सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ७ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङले सहकारीका अध्यक्षसहित ७ जनालाई बिहीबार धरौटीमा रिहा गरेको हो ।
प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा चलाएका ३४ जनामध्ये प्रहरी हिरासतमा रहेका ७ जना जनही ७ लाखदेखि १२ लाख रुपैयाँ धरौटी रकम बुझाएर बिहीबार तारेखमा रिहा भएको अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए ।
पक्राउ परेका ७ जनाले अदालतमा ७२ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका हुन् । जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले ४ जनालाई जनही १२ लाख, १ जनालाई १० लाख र २ जनालाई जनही ७ लाखका दरले धरौटी माग गरेको थियो ।
अदालतको आदेशअनुसार सहकारीका अध्यक्ष शिवराम शिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, तत्कालीन कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलन शर्मा दनाई र संस्थाका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया जनही १२ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
यस्तै कालिका सहकारीका लेखापरीक्षक महेन्द्र शर्मा पौडेल १० लाख रुपैयाँ साथै सहकारीका सचिव कृष्ण केसी (कृष्णबहादुर खत्री ) र सदस्य हरिबाबु थापा जनही ७ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेको अदालतले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेपछिको बयान, बहससँगै बिहीबार थुनछेक बहस भएको थियो । अदालतमा मुद्दा दायर गरिएका ३४ जनामध्ये २७ जनालाई प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए ।