काठमाडौं । ७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन् ।
महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन् ।
मधेश प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् ९४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।
जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।