काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियरिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर गरेको छ। सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाएको छ।
उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ।
राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१४ गते।
——————————————
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको हुँदा प्रचलित कानून बमोजिम कारबाही हुन भन्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि राहादानी बनाएवापत सेवाग्राहीसँग रु.३४,०००।– घुस/रिसवत माग गरी लिइएको देखिंदा निज प्रदिप भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निज प्रदिप भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.३४,०००।- (चौतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको बिगो बमोजिम जरिवाना सजाय हुन एवं प्रतिवादी सुमी धामी भन्ने सुमित्रा सापकोटाले घुस लिने/दिने कार्यमा प्रदिप भट्टराईसँग मिलेमतो गरी घुस वापतको रकम प्रतिवादी प्रदिप भट्टराईको खातामा जम्मा गरेको समेत पाइएकोले निज प्रतिवादी सुमी धामी भन्ने सुमित्रा सापकोटाले प्रतिवादी प्रदिप भट्टराईको घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको हुँदा निज सुमी धामी भन्ने सुमित्रा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा प्रतिवादी प्रदिप भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.३४,०००।- (चौतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको बिगो बमोजिम जरिवाना हुने सजायलाई आधार मानी सोही ऐनको दफा ३ को उपदफा (४) वमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे