काठमाडौं । फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृतविरुद्ध अदालतले फक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत काठमाडौंका अनुसार पक्राउ पुर्जी जारी गरिएका अधिकृत कुशल बराल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल भनिने विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो रहेका छन्। यसअघि अदालतले उनीहरूविरुद्ध पक्राउ अनुमति दिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न अध्यागमनका अधिकृतसहित १२ विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बताए।
घटनामा दुई घुससहित रंगेहात पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्काको बयानका आधारमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीहरू अध्यागमनमा रहँदा भिजिट भिसा सहजीकरण समितिमा रहेका थिए। नरवीरले भिजिट भिसाका एजेन्टबाट रकम असुल्थे। समितिमा सहजीकरण पठाउँथे। समितिले अध्यामगनका प्रत्येक कर्मचारीलाई दामासाहीमा उक्त रकम बाँड्थे।
यो तथ्यलाई नरवीरले बयानमा स्वीकार गरेका छन्। तर, प्रहरीले सेटिङ गरेबापतको रकम लिने अध्यागमनका बाँकी कर्मचारीविरुद्ध भने अनुसन्धान नै गरेन।
अदालतले उनीहरूसँगै घटनामा संलग्न कौशिला मगर, लक्ष्मी राई, गीता दमाईं, आशिष भनिने केदारबहादुर खड्काविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
गत १८ माघमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको थियो। घटनामा पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्का, मनोज तामाङ, अरुण दाहाल र सरोजकुमार यादवलाई जेल चलान गर्ने आदेश गरेको थियो। बाँकी ६ प्रतिवादीविरुद्ध भने धरौटी रकम माग गरिएको थियो।
अदालतका अनुसार पक्राउ परेकामध्ये गीता शाहलाई ५ लाख, रामप्रसाद भण्डारी र दिनेश ज्ञवालीलाई जनही ७-७ लाख, विनोद कार्कीलाई २ लाख, रवीन्द्र अर्याल भनिने रविन अर्याल र पदम लामालाई १-१ लाख रुपैयाँ धरौटी रकम माग भएको छ।