काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज समय निकै छिटो दौडिएको बताएका छन् । जिफन्टले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल ट्रेड युनियन आन्दोलनको ७७औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेको बताए ।
उनले आज समय छिटो दौडिएकाले आफू कार्यक्रममा आउन ढिलो भएको उल्लेख गरे । ‘देशमा परिवर्तन आएको छ, परिवर्तन हुन्छ, जेसुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छाड्दैनौँ, नेकपा एमालेलाई निर्णायक शक्तिमा परिणत गर्ने उद्देश्यका साथ मिसन २०८४ भनिएको हो,’ उनले भने ।
राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको संरक्षण तथा विकास र समृद्धि हुने उनको दाबी छ । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्ति निर्णायक भए भने देश अप्ठेरोमा पर्ने ओलीले प्रस्ट पारे ।
ओलीले एमाले नयाँ राजनीतिक हिसाबले अघि बढ्न खोजेको बताए । आज केही नयाँ परिवर्तन हुने उनले कार्यक्रमका सहभागीलाई जानकारी दिए । ‘आज पक्कै केही परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु’, ओलीले भने । आज सत्ता गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धनअनुसार मन्त्रिपरिषद् पुनःगठन हुँदै छ । ओलीले त्यसैतर्फ संकेत गरेका हुन् ।