काठमाडौं । गण्डकीका ४६ स्थानीय तहले गण्डकी प्रदेश सरकारसँग खेल मैदान निर्माणका लागि अनुदान माग गरेका छन् । चालु आर्थिक वर्षमा २५ वटा स्थानीय तहमा मात्र खेल मैदान निर्माणका लागि अनुदानको प्रक्रिया अघि बढाइएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खेलकुद महाशाखा प्रमुख खिमबहादुर भुजेलका अनुसार खेल निर्माण र स्तरोन्नतिका लागि अनुदान पाउने स्थानीय तह केहीदिनमा छनोट हुने छन् । उनले यस वर्ष ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमका लागि प्रदेश सरकारसँग चार करोड बजेट रहेको र एउटा स्थानीय तहले १६ लाखका दरले अनुदान पाउँने पनि बताए ।
छनोटपछि लगत्तै योजना कार्यान्वयनमा जाने उनको भनाइ छ । प्रदेश सरकार स्थापना भएयता उक्त कार्यक्रमका लागि रु. १७ करोड २२ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । प्रदेशका ८५ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रम कार्यान्वयन भएको जनाइएको छ ।
महाशाखा प्रमुख भुजेलले यसअघि कतिपय स्थानीय तहमा योजना सुरु भएपनि कामले पूर्णता पाउन नसकेको बताए । खेल मैदान मर्मतलगायत स–साना योजनामा मन्त्रालयले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । ‘एक स्थानीय तह, एक खेल मैदान’अन्तर्गत गत आवमा १५ वटा खेल मैदानको निर्माण तथा स्तरोन्नति गरिएको थियो ।
चालु आवमा प्रदेशस्तरीय क्रिकेट खेलकुद मैदान निर्माणका लागि रु. ४० लाख बजेट विनियोजन गरेपनि जग्गा नहुँदा कहाँ लगानी गर्ने भन्ने अन्योलता देखिएको मन्त्रालयले जनाएको छ ।