काठमाडौं । सर्वोच्च अदालतले विहीबार स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
स्वास्थ्य सेवा ऐन २०५३ मा अधिकृतको प्रवेश उमेरहद ४५ वर्ष स्पष्ट रुपमा उल्लेख भए पनि पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरुले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेको भन्दै सर्वोच्चमा रिट परेको थियो।
स्वास्थ्य सेवा ऐन, २०५३ ले अधिकृतस्तरको सेवा प्रवेशको उमेरहद ४५ राखेको छ। स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जवाफ समेत मागेको छ।