काठमाडौं । पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो ।
तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गरेकी थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा शुरु भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो ।
यसअघि २०७९ असारमा पहिलोपटक सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।
पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँकै चिकित्सकको टोलीले सो कार्य सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
बिहीबार अस्पतालका युरो सर्जनद्धय डा.प्रकाश क्षेत्री र डा अनुप चापागाईँ, नेफ्रोलोष्टि डा.जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा.डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिएका छन् ।