काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन दिएको प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएपछि गृहमन्त्री लामिछानेले सादा पोशाकमा प्रहरी परिचालन नगर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।
‘त्यस कार्यालय तथा मातहतसमेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारी (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक)लाई तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।
प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।