काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलसँग राष्ट्रिय सहमति र समझदारीको वातावरण सृजनामा आफु जुटेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशको प्रमुख नेतृत्वमा सबै पार्टीलाई समेटिएकाले कहीँ न कहीँ राष्ट्रिय सहमति कायम गर्ने गरी नै पहल गरेको दाबी गरे। सत्ता समीकरणका लागि गठबन्धन बनाउदा सबैलाई रिझाउने प्रयास गरेको उनले बताए।
‘मेरो कोसिस सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो। हुन त कहिलेकाहीँ नेपाली कांग्रेससँग नजिक हुँदा नेकपा एमालेका नेता साथीहरु र नेकपा एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरुलाई नमिठो लागेकै छ, त्यो कुरा मैले बुझेको छु,’ उनले भने, ‘तर, फेरि अहिले हामीले जेलाई बिग सिक्स भन्छौं, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष हामीले हे¥यो भने मलाई गर्व छ । कहीँ न कहीँ राष्ट्रिय सहमतिको वतावरण कायम गर्ने गरी नै हामीले पहल गरेका छौं।’
मुलुकका प्रमुख ६ पदहरुमा दलीय बाँडफाँट मिलेको भनाइ उनको थियो । सञ्चार क्षेत्रका हकमा उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको उनले उल्लेख गरे।