काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन्। सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउँदा उल्टै सरकारलाई नै भ्रष्टाचारी देख्ने प्रवृत्ति मैलाएको भन्दै उनले आक्रामक शैलीमा प्रतिवाद गरे।
बुधबार राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको अडानलाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
उनले भने, ‘एक-दुई भ्रष्टाचारीलाई कारबाही गर्दिएपछि मानिसहरू भन्छन्- देख्यौ त, भ्रष्टाचार भएको रहेछ नि ! छर्लङ्गै देखियो।’ कारबाही गर्दा भ्रष्टाचार बाहिर आउने र नगर्दा लुकेर बस्ने तर्क प्रस्तुत गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे, ‘कारबाही नगरिदिए राम्रो ? त्यसो गर्दा त भ्रष्टाचार देखिँदैन नि ! कारबाही गर्यो भने चाहिँ ‘ल, फ्याल् फ्याल् रहेछ नि भ्रष्टाचार’ भन्ने ?’
उनले सरकार आफ्नो भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पारे।
‘कसैले भ्रष्टाचार गर्यो भने कारबाही हुन्छ। कसैलाई पनि छोडिँदैन। भ्रष्टाचार नियन्त्रण गर्ने भनेको यही त हो,’ उनले आफ्नो अडान दोहोऱ्याए।
उनले सरकारमाथि लाग्ने आरोपको खण्डन गर्दै भने, ‘अनि सरकार कहाँबाट भ्रष्टाचारको पर्याय हुन्छ ? सरकार त भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ।’