काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउने क्रम जारी रहेको छ ।
यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने अहिलेसम्म खुलेको छैन ।
यसैबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन् । उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिएका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताए । उनका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।