काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ।
आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो।
गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे। उनले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए।
मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो। गाउँपालिकाले मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरेर उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमार्फत आकर्षित गर्न सकिने उनको भनाइ छ।
अध्यक्ष चुमानले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाईसमेत मोटरबोटमा आकर्षित गर्न सकिने बताए। सो जलाशयमा तत्कालका लागि एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए। मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप पर्यटकीय गन्तव्यको विकास गर्न सकिने उनको भनाइ छ।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ।
कम्पनीले थप तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना रहेको जनाएको छ।