काठमाडौं । लमजुङ सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विगत दुई महिनादेखि पठनपाठन ठप्प भएको छ । विद्यार्थी सङ्गठनहरूको आन्दोलनका कारण लमजुङ क्याम्पसमा सम्पूर्ण शैक्षिक गतिविधिहरू अवरुद्ध बनेको हो ।
गत माघ २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रावासमा नेविसंघ र अनेरास्ववियुबिच झडप हुँदा सोही क्याम्पसका उपप्राध्यापक अमित खनालसहित १५ जना विद्यार्थी घाइते भएका थिए । उक्त घटनापछि असुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले क्याम्पसमा पठनपाठन बन्द गरेको थियो ।
घटनापछि २०८० साल फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा क्याम्पस प्रशासनले विगतका निर्णय पूर्ण रुपमा पालना गर्ने निर्णय गरेको थियो । निर्णय पश्चात पनि क्याम्पस प्रशासनले निर्णय कार्यान्वयन गर्न चासो नदिएको पूर्व विद्यार्थी सागर खड्काले आरोप लगाएका छन् ।