काठमाडौं । लमजुङ बेसिशहर–चामे सडक कालोपत्रका काम सकिएको छ । उक्त सडकअन्तर्गत बेसिशहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो ।
डुम्रे–बेसिशहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । पाँच दशमलव पाँच मिटरमा सवारीसाधन सञ्चालन हुने, एक दशमलव एक मिटर पानीको निकास र पैदलयात्री मार्ग एक मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्र गर्ने सम्झौता भएको थियो ।
बेसिशहरबाट खुदीसम्म करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित तीन सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड रुपैयाँ लागत अनुमान गरेकामा १६ करोड रुपैयाँ र सोही स्थान नजिक एक सय २० मिटरको करिब चार करोड रुपैयाँ मा पुल तथा बाटो निर्माण भइरहेको छ ।