काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे अवराेधपछि सङ्घीय संसद्काे दुवै सदनकाे बैठक स्थगित भएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवराेध गरेका हुन् । याे बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियाे । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवराेध गरेसँगै सभामुख देवराज घिमिरेले अर्काे बैठक पर्सि बिहीवार बिहान ११ बजेका लागि बाेलाएका छन् ।
कांग्रेसले राष्ट्रिय सभा बैठकमा पनि अवराेध गरेकाे छ । राष्ट्रिय सभामा पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन । कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष नारायण दाहालले पर्सि बिहीवारसम्मका लागि बैठक स्थगित गरेका छन् । संसद्काे दुवै सदनकाे बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समितिको माग गर्दै नाराबाजी गरेकाे हाे ।