काठमाडौं । बैशाख २८ गतेदेखि बेपत्ता बेसीशहर नगरपालिका वडा नं. ६, तल्लो मकैडाँडाका २० वर्षीय हरिराम रिमाल ११ दिनपछि मृत भेटिएका छन् । सोमबार दिउँसो मस्र्याङदी नदी किनारमा उनलाई मृत अवस्थामा भेटिएको हो ।
मर्स्याङदी गाउँपालिकाको वडा नं. ८ मा पर्ने बडागाँउमा साथीको घरमा जान्छु भनि बैशाख २८ गते शुक्रबार राती १० बजे घरबाट निस्केका उनको शब सोमबार दिउँसो साढे ३ बजे बेसीशहर ६ मा पर्ने बेलौति विसौना खोला र मर्स्याङदीको दोभाननेर बीच नदीमा भेटिएको हो ।
नदीकोबीच बगरमा मृत ब्यक्तिको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर थाह पाउनासाथ प्रहरीले सशस्त्र प्रहरीको सहयोगमा डुंगाको मद्दतले नदीको बीचबाट शवलाई बाहिर निकालेको थियो ।
घटनस्थलको मुचुल्का गरी प्रहरीले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । उनले घटनाको अनुसन्धान शुरु भएको र पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप भन्न सकिने बताए ।
बैशाख २८ गते उनी बडागाउँमा प्रेमिकालाई भेट्न भनि गाउँकै एकजना साथी दिनेश रिमालसँग बेलौति बिसौनाको झोलुंगे पुलसम्म पुगेका खुलेको छ । उनी साथीलाई त्यहाँबाट फर्काए पछि एकाएक बेपत्ता भएका थिए ।
घरबाट हिँडेपछि कसैको पनि सम्पर्कमा नआएका उनको खोजीका लागि परिवारले सम्भावित सबै ठाउँमा खोजि गरेकोमा भेटिएका थिएनन् । नभेटिएपछि खोजी कार्यका लागि उनीहरुले प्रहरीमा समेत निवेदन दिएका थिए ।
