जनक श्रेष्ठ
लमजुङ । लमजुङस्थित करापुटार–डढुवा–साल्मे भञ्जाङ सडकखण्ड अन्तर्गत करापुटार–डढुवा सडकखण्ड आरसीसी ढलान काय ५० प्रतिशत सम्पन्न भएको छ । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्डअन्तर्गत मध्यनेपाल नगरपालिकाको वडा नं. ७ करापुटारदेखि वडा नं. ८ डढुवासम्मको ९ किलोमिटर ढलान कार्य अझै ५० प्रतिशत बाँकी रहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार हालसम्म ४ किलोमिटर ढलान कार्य सम्पन्न भएको छ । थप सडक ढलान गर्न सडक फराकिलो बनाउने, नाली बनाउने, पर्खाल लगाउने कार्य भइरहेको उनको भनाइ छ । ९ किलोमिटर ढलान हुने यस सडकखण्डको जंगल रहेको चार किलोमिटरमा सडकको चौडाइ चार मिटर ढलान हुने र अरु बाँकी भागमा पाँच मिटर ढलान हुने र ढलान मोटाइ भने २० सेन्टिमिटरको हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यहाँ धेरै स्टक्चरको काम सम्पन्न भइसकेको उनको भनाइ छ । सडक ढलान गर्नका लागि गण्डकी प्रदेश सरकारको ३१ करोड २३ लाख ३० हजार २६९ रुपैयाँ लागतमा निर्माण कार्य भइरहेको छ । रसुवा जयदम्बा जेभी धादिङले विसं. २०७८ असोज महिना १३ गते निर्मााणको सम्झौता गरेको थियो ।
विसं. २०८१ असोज १३ गतेभित्रमा यस सडक ढलान सम्पन्न गरिसक्नुपर्ने पुर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सिग्देलले बताउनुभयो । निर्धारित समयअवघि भन्दा केही महिना थप गर्नुपर्ने सम्भावना देखिएको उहाँको भनाई छ । उहाँका अनुसार आगामी कात्तिक/मंसिर महिनासम्म यस सडकखण्डको ढलान कार्य सम्पन्न हुनेछ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत रहेको यस सडक जिल्लाको मेरुदण्डको रुपमा हेरिएको छ ।
करापुटार–डढुवा–साल्मे भञ्जाङ– मालिङ– कपुरगाउँ हुँदै लमजुङ सदरमुकाम बेसिशहर जोडिने यस सडक जिल्लाको रिङरोड सडक रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस सडक करापुटारस्थित मध्यपहाडी लोकमार्गमा जोडिने छ । सडक सम्पन्न भए पश्चात् क्व्होलासोथर गाउँपालिका वासी र मध्यनेपाल नगरपालिका वासीलाई गण्डकी प्रदेश राजधानी पोखरा जोडिने सडक रहेकाले उक्त पालिकावासी बढी लाभान्वित हुने भएका छन् ।

त्यस्तै, यस करापुटार –डढुवा– साल्मे भञ्जाङ सडकअन्तर्गत डढुवादेखि साल्मेसम्मको सडकखण्ड स्तोरोन्ती कार्य भइरहेको छ । विसं. २०७६ फागुन ७ गते सम्झौता गर्दै वि.संं २०७८ फागुन ६ गतेसम्म सम्पन्न गर्नुपर्ने भएपनि सम्पन्न भएन । सो पश्चात् म्याद थप गर्दै आगामी असार महिनासम्मको अवधि रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
हालसम्म ९२ प्रतिशत वित्तिय प्रगति रहेको छ । ग्राभेल, स्टक्चरको काम सम्पन्न भएको छ । १०० मिटर नाली निर्माण गर्न बाँकी रहेको छ । एक ठाउँमा पर्खाल उठाउने कार्य भइरहेको छ । त्यस्तै, डेन लिटर पोष्टहरु राख्ने कामहरु भइरहेको छ । यी काम सम्पन्न भएसँगै यस खण्डको सबै काम सम्पन्न हुने बताइएको छ ।
प्रदेश सरकारकै लगानीमा १७ करोड ६१ लाख रुपैयाँमा मोतिदान कम्पनीले सडक स्तोरोन्नती कार्यको जिम्मा लिएको छ । नालासहित ८ मिटर चौडाईको सडकखण्ड हुने भएको छ । यस सडकखण्डको निर्माण कार्य असार महिनाभित्र नै सम्पन्न हुने उक्त कार्यालयले जनाएको छ । कार्यालय अनुसार यस सडकखण्ड अन्तर्गत नै साल्मे भञ्जाङदेखि मालिङसम्मको पाँच किलोमिटर सडकको लागि २५ करोड रुपैयाँमा ठेक्का निकालेको छ । त्यस्तै, सोही सडकमा साढे तीन किलोमिटर ढलान कार्य गर्ने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यहाँ सडक स्तरोन्नती र ढलान हुन लागेपछि स्थानीयहरु हर्षित भएका छन् । ग्रामिण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयहरु सहज रुपमा र केही समय समेत छोटिने भएको छ । यस कार्यालयले धमाधमा मोटरेवल पुल, सडक स्तरोन्तती गर्ने कार्य जिल्लाका विभिन्न स्थानमा गरिरहेको छ ।
