काठमाडौं । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।
उनी नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । प्रधानको नियुक्ति संसदीय सुनुवाइपछि हुनेछ । नियुक्तिपछि उनले प्रमुख निर्वाचन आयुक्तबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।
संवैधानिक आयोगहरूमा रिक्त रहेका पदाधिकारी नियुक्ति गर्नका लागि आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभामुख इन्दिरा राना मगर उपस्थित थिए ।