लक्ष्मण सिटौला
दशैँ आउनु अघि
रामु दाइ हाम्रो घरमा लुगा सिउन आउँदा
उहाँले कहिले पनि
आफ्नो जातको सियो देखाउँदै आउनु भएन
र घोच्नु भएन हाम्रा कोमल मनहरुलाइ कहिल्यै
उहाँ चुपचापले आउँदा
यस्तो लाग्थ्यो कि–
साथमा हामी भुराहरुको लागि
खुसीको पर्व ल्याउनुभएको छ ।
म यसो माथी आगेटारतिर हेर्थे
कल बोकेर एक शान्त बुद्ध
झर्दै गरेको देख्थे कलिलो घामसगै
घरसगै थियो बिरिमकलीको बोट
त्यही बोटमुनि कुरि बस्थे म
आफ्नो च्यातिएको नाना
रामु दाइलाइ देखाउन भनेर
र म भन्ने गर्थे– “मेरो लुगा पहिला सिउने“
दाइ भन्नुहुन्थ्यो– उहाँको लुगा पहिला सिउने
बहिनी भन्थीन उन्को घागर पहिला सिउने
भाइहरु भन्थे उनका लुगा पहिला सिउने
दशै आएपछि रामु दाइ आउनुहुन्थ्यो
हामीले नयाँ लुगा पाउथ्यौ
अनि बल्ल दशै आए जस्तो लाग्थ्यो
उहाँ आउँदा–
शरदको शारदीय घाम लिएर आउनुहुन्थ्यो
हाम्रो खुसीको न्यानो याम लिएर आउनुहुन्थ्यो
अपनत्वको वासना लिएर आउनुहुन्थ्यो ।
खै किन पो हो त्यतिबेला
एउटा कुराले भने अचम्मित हुन्थे म
उहाँले खाना खाएको थाल कचौरा र गिलासमा
आगो र पानी राखेर चोख्याउने चलन थियो हाम्रो घरमा
एक दिन मैले आमालाई सोधे
“आमा यो के गरेको“?
आमाले भन्नुभो “चोख्याएको“
अनि मैले भनेथे–
“रामु दाइले सिएको लुगा जुठो नहुने
अनि उहाँले धोएर सफा गरेको
भाडा चाहिँ कसरी जुठो हुन्छर आमा“ ?
म भित्र जातीय बिभेदको आगो
त्यतिबेला देखि बलिरहेको थियो हिर्दयमा
र मैले लेखे त्यो कथा धेरै बर्ष पछि
रामुदाइको कथा
दलनको कथा
एक सामाजिक बिभेदको कथा
आगोको कथा
“आगो“ उपन्यास