काठमाडौं । नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दैछ । बैठकमा सहभागी हुन चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुन बेइदोङ नेपाल आएका छन् ।
दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्ने यो कर्मचारीस्तरको उच्च संयन्त्र हो । संयन्त्रको यसअघिको बैठक २४ चैत २०७९ मा बेइजिङमा भएको थियो ।
बैठकमा दुई देशका शीर्ष नेताहरूबीच यसअघि भएका सबै सम्झौताको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिनेछ । यस्तै बिआरआई कार्यान्वयन योजनाका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव सेवा लम्साल र चीनको नेतृत्व सुनले गर्नेछन् । ‘बैठकमा दुईपक्षीय सम्बन्धका सबै क्षेत्रका विषयमा छलफल हुनेछ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ ।
नेपालले प्रस्ताव गरेअनुसार नेपाल–तिब्बत–सिचुआन–छोङछिङ विकास करिडोरका विषयमा पनि छलफल गर्ने नेपालको तयारी छ । यसबारेमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने नेपालको प्रस्ताव रहने जनाइएको छ । यसका साथै नेपालले चिनियाँ अनुदानका विकास परियोजना तथा चिनियाँ संलग्न परियोजनाको शीघ्र कार्यान्वयनमा जोड दिने परराष्ट्रका अधिकारीहरूले जनाएका छन् ।
यस्तै, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पुनः एकपटक छलफल हुने भएको छ । व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसके पनि हालसम्म एक पटक पनि बैठक बस्न सकिरहेको छैन । नेपाल–चीन व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने यसअघिनै भइसकेको सम्झौता भए पनि कार्यान्वयनको चरणमा गइनसकेकाले उक्त विषय कहाँ पुग्यो भन्ने विषयमा पनि छलफल हुने भनिएको छ ।