हाम्रो हेडलाइन संवाददाता
काठमाडौं । लमजुङमा पहिरोले एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । दोर्दी गाउँपालिका वडा नं.९ स्याउत सुनार गाउँमा गएरातिको पहिरोले पुरिँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् । पहिरोमा परी उनका दाइ १८ वर्षीय बिमल सुनार घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो। घाइते बिमलको लमजुङ अस्पतालमा उपचार हुँदै छ।
यसैबीच क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राती राती पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।गएराती १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएको वडा सदस्य बिनबहादुर घलेले बताए ।
पहिरोमा परेर अन्दाजी ६९ वर्षीय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने उनका बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरु अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता बेपत्ता भएका छन् ।
पहिरोले क्व्होलासोथा गाउँपालिका योजना प्रमुख चित्र घलेको घर बगाएको र घरमा रहेका अन्दाजी ३६ वर्षीया भाइ भीमबहादुर घले घाइते भएका छन् । स्थानीय जुना घलेले पहिरोमा परेर ४ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताइन् ।