काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ ।
अधिकार र साधन स्रोत सम्पन्न बूढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए ।
त्यस्तै प्राधिकरणमार्फत समग्र बूढीगण्डकी करिडोर विकासका कामहरू तीव्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित स्थानीयवासीका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूको माग आउँदो भदौ महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।