काठमाडौं । मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे।
कूल एक हजार नौ सय दुई मेगावाट क्षमताको जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ। मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ। त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ।
विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहीले मुगु कर्णाली आयोजनाको विद्युत् कहाँ कसरी जोड्ने भन्ने विषयमा रहेको अन्योलताको अन्त्य भएको जानकारी दिए।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मुलुकको आवश्यकतालाई ख्याल गरेर प्रसारण लाइन निर्माण गरिने भएकाले आजको समझदारी महत्वपूर्ण रहेको बताए।