काठमाडौं । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा सरकारी कार्यालयमा सेवाग्राहीको चाप छ । वर्षभरि सञ्चालन गरेका योजनाको भुक्तानी दिनुपर्ने फाइल थुप्रिएका छन् । भुक्तानीको म्याद पनि सकिनै लागेको छ ।
कार्यालय प्रमुखलाई तोक लगाउने र भुक्तानी दिन भ्याइनभ्याई भइरहँदा त स्थानीय तहका कर्मचारीहरु शोकमा पनि कार्यालयकै काममा खटिएका छन् । लमजुङको दूधपोखरी गाउँपालिका लेखा अधिकृत नरेन्द्रराज घिमिरे पितृशोक परेका छन्, तर उनी कार्यालयकै काममा खटिएका छन् ।

लमजुङ राइनास नगरपालिका १, साहिँलीटार घरभएका उनका बुवा दुर्गाभक्त घिमिरेको असार १९ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।
उनी बुबाको किरिया बसेका छन् । तर उनले त्यहि ल्यापटप र प्रिन्टर राखेका छन् । उक्त व्यवस्थापन गाउँपालिका कार्यालयले गरिदिएको हो । टाउकोमा ‘झोपो’ र शरीरमा सेतो कछाड बेरेर भुइँमा बसेर ल्यापटपबाट उनी काम गरिरहेका छन् ।
घिमिरेले काम नगर्दा योजनाका भुक्तानीदेखि कार्यालयका कर्मचारीको तलबसमेत रोकिनेमात्रै होइन बजेट नै फिर्ता हुन्छ । उनले बुवाको अन्तिम संस्कारकै भोलिपल्टदेखि काममा खटिएको बताए ।
गाउँपालिकाका प्रशासन प्रमुख रमण बरालका अनुसार आवश्यक फाइल लेखा अधिकृत घिमिरेको घरमै लगिदिने गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले किरियामा रहे पनि लेखा अधिकृतले सम्पादन गर्नुपर्ने काम घरबाटै गरिरहेको बताए ।
यसैबीच जुम्लाको कनकासुन्दी गाउँपालिका लेखापाल शंकर आचार्य पनि शोकमा छन् । तर उनी पनि किरिया बसिरहेको ठाउँबाट काम गरिरहेका छन् । उनले किरिया बसेको ठाउँमै कम्प्युटर राखेर काममा खटिइ रहेका छन् ।

हिमा गाउँपालिका–१ लिहीका आचार्यको आमा जयलक्ष्मी आचार्यको ८१ वर्षको उमेरमा यहि असार १६ गते निधन भएको थियो । १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरियो। आचार्य १८ गतेदेखि नियमित कार्यालयको काम गरिरहेका छन्।
उनले भने, ’आर्थिक वर्ष सकिन लाग्ने बेला जनताले गरेका विकास निर्माणमा गरेका भुक्तानी, कर्मचारीको तलब लगायतका महत्त्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ। त्यसैले काम गरिरहेको छु।’ लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर दिनरात अहोरात्र खटेर काम गरिएको बताए।
यसैबीच सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विश्वकर्मा पनि शोकमै कार्यालयको काममा खटिएका छन् । उनको बुबाको निधन भएको थियो । काजक्रियामा रहेका उनले आफ्नो कार्यालयको जिम्मेवारी पूरा गर्न गरिरहेका छन् ।

सरकारी नियमअनुसार किरिया बस्नेले १५ दिन बिदा पाउँछन् । यो बिदामा किरिया बस्नेले काम गर्न पर्दैन । आर्थिक वर्षको अन्त्यका बेला उनीहरुले काम नगर्दा भुक्तानीका सबै काम रोकिने भएपछि उनीहरु आफैं कार्यालयको काममा खटिएका छन् ।