लमजुङ । लमजुङको बेसिशहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरनामा यस वर्ष भने पर्यटकको चहल पहल छैन । गत वर्ष यस समयमा आन्तरिक तथा वाह्य पर्यटकहरु समेत झरनामा हेर्न, फोटो खिच्न र पोडि खेल्न आउँथे । यस वर्ष भने उक्त ठाउँमा नजिकै माटोको ढिस्को राखिएको छ । गाईंखुरे झरना माटोको थुप्रोले घेरिएको छ। यहाँ माटो राख्ने एक निजी कम्पनी (ओम लाल गुरुङको समूह) हो। यस कम्पनीले गाईंखुरेमाथि निजी लगानीमा काम गरिरहेको छ।
यहाँ माटो राख्न यस कम्पनीले गाईंखुरे सम्मको बाटो सम्याइदिने भन्दै नगरपालिकाकै अनुमति लिएर माटो राखेको हो। तर माटो थुपार्ने काम मात्र भयो। त्यसपछिको काम अघि बढेन।
नगरप्रमुख गुमानसिंह अर्यालले सो कम्पनीले अटेरी गरेको बताए। उनले भने ‘माथिको डाँडा उनीहरूकै हो, गाईंखुरेको बाटो सम्म्याइदिने सर्तमा हामीले माटो राख्न दिएका हौं, तर काम भएको छैन। हामीसँग तुरुन्तै गर्छु भनेका थिए। तर अहिलेसम्म गरेका छैनन्। नटेरेकै हो। गर्छु, गर्छु भन्छन् गर्दैनन्। यसैगरी अटेरी गर्ने हो भने हामी छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ, छोड्दैनौ।’
डुम्रे–बेँसीसहर सडक नजिकै पर्ने यस झरनामा गत वर्षहरुमा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गर्थे ।
एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्थे ।
यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका थिए । यस वर्ष भने उक्त झरनामा चहल पहल शुन्य छ ।