काठमाडौं । लमजुङ बेसिशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न नगरसभाको १५ औं अधिवेशनले बजेट, योजना, नीति र कार्यक्रम सुझावसहित पास गरेको हो ।
नगर उपप्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४४ करोड ५६ लाख, ६९ हजार र पुँजीगत तर्फ ३१ करोड १६ लाख ४ हजार बजेट प्रस्ताव गरेकी थिइन् । उनले प्रस्तुत गरेको योजनामा नगरपालिकातर्फ विभिन्न शीर्षकमा २ सय ६३ र वडागतरुपमा ३ सय ४ वटा योजना रहेका छन् ।
उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ८० लाख २५ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५२ करोड ९२ लाख ४८ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षमा भएको कार्यक्रममा नगरप्रमुख अर्यालले निर्णयका लागि प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–०८२ को नीति, कार्यक्रम, योजना र बजेट, बेसीशहर नगरपालिकाको विनियोजन विधेयक २०८१, कार्यपालिकाले गरेका निर्णय लगायत ४५ वटा निर्णयहरु नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमाबिना भेद्भाव, पक्षपात रहितरुपमा नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत भइ पारित भएको बताए ।
नगरसभामा उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमाथि वडा नं. ८ का वडा अध्यक्ष पवित्रा थापा राना, वडा सदस्यहरु गुमानसिंह कँडेल, दिपक अधिकारी, कृष्ण भुजेल लगायतले टिप्पणी सहित सुझाव राखेका थिए ।