काठमाडौं । चितवन भरतपुर–२८ स्थित नारायणी नदी किनारमा भेटिएको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ।
उक्त शव गणपति डिलक्सका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ। प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ।
काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन्। एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेको थिए।