काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यमहरुमा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे शुक्रबार स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताएकी हुन् ।
‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिनेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ उपसभामुख रानाले भनेकी छन्, ‘आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभइ म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’’
गत वर्ष २०२३ को मार्च महिनामा यूएनसिएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ को सहभागिताका लागि आफू लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको विज्ञप्तिमार्फत उनले उल्लेख गरेकी छन् ।
उपसभामुख रानाले अमेरिका जाने क्रममा–यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकाले आफूले पत्र लेखेको उल्लेख गरेकी छन् ।
‘मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताका लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताका लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’ उनले भनिन्, ‘कसैले भिसा दिन जा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध पनि गरेकी छैन ।’


